परिचय

गण्डकी प्रदेशको उच्च आर्थिक वृद्धि, सन्तुलित र दिगो विकासका लागि आवधिक योजनाको तर्जुमा, कार्यान्वयन, सहजीकरण, अनुगमन तथा मूल्याङ्कन र नीतिको अनुसन्धान तथा विकास गरी गण्डकी प्रदेश सरकारलाई सल्लाह र सहयोग प्रदान गर्ने विशिष्टिकृत निकायको रूपमा गण्डकी प्रदेश नीति तथा योजना आयोगको गठन भएको हो।

आयोगको गठनः गण्डकी प्रदेशमा उच्च आर्थिक प्रगति र सन्तुलित तथा दिगो विकासका लागि दूरगामी सोच सहितको विकास नीति तथा योजना तर्जुमा, कार्यान्वयन, सहजीकरण, अनुगमन र मूल्याङ्कन गर्न एक गण्डकी प्रदेश नीति तथा योजना आयोग गठन गरिएको छ।

आयोगमा देहाय बमोजिमका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरू रहनेछनः-

  1. मुख्यमन्त्री -अध्यक्ष
  2. प्रदेश सरकारबाट नियुक्त एक जना -उपाध्यक्ष
  3. प्रमुख सचिव, प्रदेश सरकार - सदस्य
  4. प्रदेश सरकारबाट नियुक्त कम्तीमा एक महिला सहित बढीमा दुई जना - सदस्य
  5. प्रदेश सचिव, आर्थिक मामिला मन्त्रालय - सदस्य
  6. प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोग -सदस्य-सचिव

उपाध्यक्ष र सदस्यको नियुक्ति गर्दा आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, विज्ञान तथा प्रविधि र प्राकृतिक स्रोत वा मानव स्रोत व्यवस्थापन, वातावरण वा जलवायु परिवर्तन सम्बन्धी विषय विज्ञ मध्येबाट नियुक्ति गरिने व्यवस्था रहेको छ।

आयोगका उपाध्यक्ष र सदस्यले आयोगको पूर्णकालीन पदाधिकारीको रूपमा कार्य गर्नेछन् ।